जुम्लामा पत्थरीको पहिलो शल्यक्रिया
जुम्ला, भदौ २७- मुगुकी पाँच वर्षीया बालिका जलदेवी बुढालाई पिसाब फेर्न समस्या हुन्थ्यो। जाँच्दा मुत्रथैलीमा पत्थरी देखियो। नेपालगन्ज वा सुर्खेत लगेर उपचार गराउने गच्छे परिवारको थिएन।
यो घटना अलि पुरानो भइदिएको भए बाबु चन्द्रबहादुर बुढाले छोरीको माया मार्नुपर्थ्यो। एपेन्डिक्स, पत्थरी, सुत्केरीजस्ता शल्यक्रिया जुम्ला अञ्चल अस्पतालमै हुन थालेपछि चन्द्रबहादुरले त्यो पीडा व्यहोर्नुपरेन। रुगा गाविस-६ का उनले भदौ १९ गते जुम्लामै छोरीको शल्यक्रिया गराए। जलदेवीको मुत्रथैलीबाट ४.५ सेमी लामो, ३.५ सेमी चौडा र २.५ सेमी उचाइको ढुंगा निकालियो।
‘यो जुम्लामा भएको पत्थरीको पहिलो अप्रेसन हो,’ उपचारमा संलग्न डा. जीवन परियारले भने, ‘अप्रेसनपछि बच्चाको अवस्था सामान्य छ।’ बाबु चन्द्रबहादुर पनि जुम्ला अस्पतालमा यस्तो सेवा सुरु भएर ‘धन्न छोरी बाँचेको’ बताउँछन्। ‘नेपालगन्ज, सुर्खेत लग्न पैसा थिएन,’ उनले भने, ‘यहाँ अप्रेशन नभएको भए छोरीलाई बचाउन सकिन्थेन होला।’
डाक्टरहरूका अनुसार गर्भावस्थामा हुने कुपोषणले बच्चाहरूमा पत्थरी देखिन्छ। केही दशक अघिसम्म यस्ता बिरामी धेरै आए पनि पछिल्ला दिनमा पोषण स्थितिको सुधारले कम हुँदै गएको वरिष्ठ शल्यचिकित्सक डा.महेश खकुरेलले काठमाडौंस्थित संवाददातासँग बताए।
सामान्यतया पित्तथली, मूत्रथैली र पिसाब बग्ने नलीमा पत्थरी हुन्छ। शल्यक्रियाबाटै पत्थरी निकाल्ने विधि बढी प्रचलनमा छ। यी भागमा २ किलोसम्मको ढुंगा हुनसक्ने डा. खकुरेलले जानकारी दिए।
‘जन्मँदादेखि नै पिसाबमा समस्या भए सबै पिसाब नछानिई थिग्रिँदै जान्छ र पत्थरी बन्छ,’ डा. खकुरेलले भने, ‘बच्चाले तल्लो पेट वरिपरिको भाग समातेर रोए यस्तो समस्या हुनसक्छ।’ जलदेवीको सन्दर्भमा पनि कुपोषणकै कारण समस्या आएको हुनसक्ने डाक्टरहरूको अनुमान छ।
आर्थिक तथा मानवीय हिसाबले पछाडि रहँदै आएको कर्णालीको जुम्ला अस्पतालले पहिलोचोटि विभिन्न शल्यक्रिया सेवा दिन थालेपछि जलदेवी लगायत धेरै बिरामीले सहज स्वास्थ्य सेवा पाउन थालेका छन्। सुत्केरी शल्यक्रिया त्यसैमध्ये एक हो।
बृहत प्रसुति सेवा सुरु भएको पछिल्लो तीन महिनामा १३ महिलाले अप्रेसन गरी बच्चा जन्माएको जुम्ला अस्पतालका डा. विप्लव सापकोटाले जानकारी दिए।
‘अप्रेसन गरेर सुत्केरी हुन हजारौं रकम खर्चेर नेपालगन्ज र सुर्खेत जानुपर्ने यहाँका महिलाको बाध्यता अन्त्य भएको छ,’ उनले भने।
जिल्ला जनस्वास्थ्य कार्यालयको कार्यक्रमअन्तर्गत ‘आइएनएफ’ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अस्पताललाई विशेषज्ञ डाक्टर उपलब्ध गराएको छ। जनस्वास्थ्य कार्यालयमा पहिल्यै उक्त कार्यक्रम आए पनि विशेषज्ञ डाक्टर नहुँदा सेवा सञ्चालन हुन सकेको थिएन।
‘मासिक २ लाखसम्म पारिश्रमिक दिनेगरी राष्ट्रिय पत्रपत्रिकामा विज्ञापन गर्दा पनि जुम्ला आउने चिकित्सक भेटिएनन्,’ जिल्ला जनस्वास्थ्य प्रमुख वृषबहादुर शाहीले भने, ‘कोही आउन नमानेपछि आइएनएफसँगको साझेदारीमा सेवा सुरु गरिएको हो।’ डा. सापकोटाका अनुसार यो सेवा सुरु भएपछि महिलाको पेट चिरेर उल्टोसुल्टो जस्तोसुकै अवस्थाको बच्चा निकाल्न सकिन्छ। सुत्केरी हुन नसकेर अन्तिम अवस्थामा आउने महिलाको पनि अप्रेसन भइरहेको उनले जानकारी दिए।
‘हामीकहाँ अन्तिम अवस्थामा मात्रै अस्पताल आउने चलन छ,’ उनले भने, ‘राति आएका महिलालाई रेफर गरे पनि कहाँ जाउन्? अहिले कसैलाई रेफर गरेर पठाउनु परेको छैन।’
अस्पतालमा माइक र डेभी भन्ने विदेशी दम्पत्ति विशेषज्ञ डाक्टरका हैसियतले काम गरिरहेका छन्। आइएनएफअन्तर्गत वर्षौंदेखि नेपालमा काम गर्दै आएका उनीहरू तीन महिनाअघि बृहत प्रसुति सेवा कार्यक्रम सुरु भएपछि यहाँ आएका हुन्। यसबाहेक दरबन्दीका ४, करारका २ डाक्टर छन्।
पहिला जिल्लास्तरको यो अस्पताल चैतदेखि अञ्चलमा स्तरोन्नति भएको हो। करिब दस वर्षअघि निर्माण भएर त्यसै थन्किएको अप्रेसन थिएटर पनि चलेको छ। जिल्लाका अस्पतालमध्ये यहाँको अप्रेसन थिएटरलाई सबभन्दा राम्रो मानिन्छ। २०५८ मा सुरक्षित मातृत्व कार्यक्रमको ८० लाख रुपैयाँ लगानीमा यसको निर्माण भएको हो। तर, विशेषज्ञ डाक्टरको अभावमा बन्द थियो। सरकारले विशेषज्ञ नियुक्त गर्न बजेट विनियोजन गरे पनि ‘फ्रिज’ हुँदै आएको थियो। त्यस्तै, भिडियो एक्सरे सञ्चालन हुन थालेपछि दैनिक ८ देखि १० जनाले यस्तो सेवा लिइरहेको अस्पतालले जनाएको छ।
यी सेवा सुरु हुनुअघि जुम्ला अस्पतालमा सामान्य बिरामीबाहेक शल्यक्रिया गर्नुपर्ने उपचार हुँदैनथ्यो। हात भाँच्चिएर प्लास्टर गर्नुपर्ने बिरामीलाई पनि नेपालगन्ज रेफर गरी पठाइन्थ्यो। डाक्टरहरू भर्खरै एमबिबिएस सकेकामात्र हुन्थे। शल्यक्रिया सुविधा नभएकाले ब्लड बैंक पनि सञ्चालनमा थिएन।
एकजनालाई नेपालगन्ज जानआउन जहाज भाडामै ८/१० हजार रुपैयाँ खर्च लाग्ने हुँदा सर्वसाधारणको आर्थिक क्षमताले धान्थेन। ‘एकजना साथी नलगी भएन, होटलमा बस्दावर्दा २० देखि ३० हजार त्यत्तिकै खर्च हुन्थ्यो,’ देपाल गाउँका गोमा महतले भनिन्।
‘जुम्लामै अप्रेसन हुन थालेपछि त्यही पैसा बालबच्चाको भिटामिन र खान्कीमा खर्च गर्न सकिने भएको छ,’ भर्खरै शल्यक्रियाबाट एक आफन्त सुत्केरी भएको अनुभव सुनाउँदै उनले भनिन्, ‘आमाको पनि राम्रो स्याहार हुने भो।’
Posted on September 13, 2011, in News. Bookmark the permalink. Leave a Comment.









Leave a Comment
Comments (0)