पोखराको पर्यटकीय क्षेत्रमा सीसीटीभी राखिने
२२ कात्तिक, पोखरा । पर्यटकीय गतिविधि तीव्र रहने पोखराको बैदाम क्षेत्रमा सीसीटीभी जडान गरिने कार्यको प्रारम्भ भएको छ ।
पोखराको पर्यटन व्यवसायलाई सुरक्षामैत्री बनाउन कास्की प्रहरीले सो अभियान अगाडि ल्याएकोमा स्थानीय पर्यटन व्यवसायीले त्यसलाई स्वीकार गर्दै सीसीटीभी जडान कार्यलाई अगाडि बढाएका छन् ।
कास्कीको बैदाम क्षेत्रमा मात्र १६ वटा सीसीटीभी जडान गरिने छ । सो टीभी जडान गर्नका लागि अन्य उपकरणसहित १९ लाख रूपियाँका क्यामरा आवश्यक रहनेछन् । सो रकम स्थानीय पर्यटन व्यवसायी एवं सङ्घसंस्थाबाट उपलब्ध हुन थालेको छ ।
हालसम्म झण्डै रु आठ लाख सङ्कलन भइसकेको छ । नागरिकबाट रकम सङ्कलन भएपछि प्रहरी प्रधानकार्यालयले सीसी क्यामरा जडानका लागि आवश्यक पर्ने कन्ट्रोल कक्षको निर्माणका लागि रु दुई लाख प्रदान गरेको छ ।
झण्डै रु. तीन लाख ५० हजार लागतमा निर्माण हुन लागेको सो कक्षको सोमबार एक समारोहबीच कास्कीका प्रहरी प्रमुख यादवराज खनालले शिलान्यास गर्नुभयो ।
उक्त कक्ष निर्माणका लागि प्रहरी प्रधान कार्यालयबाट रु. दुई लाख प्राप्त भइसकेको र बाँकी रकम पनि आउने बताउँदै करिब दुई महिनाभित्र निर्माण सम्पन्न गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा सीसीटीभी जडान संयोजक टीकाराम सापकोटाले सीसीटीभी जडानले लेकसाइडको सुरक्षा व्यवस्था प्रभावकारी हुने विश्वास व्यक्त गर्दै लेकसाइडको फिस्टेल गेटदेखि खहरेसम्म जडान गरिने तयारी गरिएको बताउनुभयो ।









khushi lagyo j hos ab khi hunxaa ki?