खगेन्द्रले नसके के भो, चन्द्रबहादुर छन् नि
हाम्रो देशका खगेन्द्र थापामगरले विश्वको सबैभन्दा होचा पुरुषको उपाधि ८ महिनामात्रै कायम गर्न सके। उनलाई पछि पारेका थिए फिलिपिन्सका जुन्रे बालाविङले। गएको जुन महिनामा १८ वर्ष पुगेपछि उनले गिनिज बुकबाट विश्वका होचा व्यक्तिको उपाधि पाएका हुन्। खगेन्द्र २६ इञ्च अग्ला थिए, बालाविङ भने २३.५ इञ्चमात्रै। तर अब फेरि यो उपाधि नेपालमा नै फर्कने देखिएको छ।
यदि दावी सही हो भने दाङ जिल्ला पुरन्धरा–८ का चन्द्रबहादुर डाँगी विश्वकै होचो ब्यक्ति बन्ने छन्। उनको उचाइ २२ इञ्च मात्रै भनिएको छ। यदि २२ इञ्च नै सही हो भने त उनी अहिलेसम्म पृथ्वीमा भेटिएका मध्येका सबैभन्दा होचा पुरुष बन्ने छन्। यो कीर्तिमान भारतका गुल मोहम्मदको नाममा छ। १९९७ मा मरेका उनको उचाइ २२.५ थियो।
चन्द्रबहादुरको बारेमा सोमबार बल्ल थाहा पाइएको हो। तर उनी त ७२ वर्षका भइसकेका रहेछन्। विक्रम संवत् १९९६ सालमा सल्यानको रामपुर गा.वि.स.मा जन्मिएका रहेछन् उनी। अहिले उनको तौल मात्र १२ किलो छ।
२०६६ सालमा सल्यान जिल्लाबाट नागरिकता लिएका डांगीले अहिले सरकारले दिने वृद्ध भत्ता पनि बुझ्दै आएका रहेछन्। उनको बिहे भने भएको रहेनछ। उनी अहिले भतिजसंग बस्दै आएका रहेछन्।
उनले अहिलेसम्म कुनै औषधी नखाएको बताएका छन्। इमेज च्यानलले हिजो उनको उचाइ नाप्दै गरेको दृश्य पनि समाचारमा देखाएको थियो।
उनको उचाइ २२ इञ्चमात्रै हो भने उनी नै विश्वका सबैभन्दा होचा व्यक्तिको रुपमा गिनिज बुकमा दर्ता हुनसक्छन्। तर यसका लागि केही प्रयासको खाँचो भने पर्छ। खगेन्द्रको नाम लेखाउन त खगेन्द्र थापा मगर प्रतिष्ठान खोलेर उनका काका मिनबहादुर राना लागेका थिए। त्यति गर्न सक्ने उनका कोही छन् कि छैनन् कुन्नि।
Posted on January 31, 2012, in News. Bookmark the permalink. Leave a Comment.











Leave a Comment
Comments (0)